काठमाडौँ । सर्वोच्च अदालतले सरकारी सेवामा हुने आरक्षण जातीयताको आधारमा नभइ आवश्यकताको आधारमा गर्नुपर्ने फैसला गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासले आरक्षणसम्बन्धी उक्त फैसला दिएको हो ।
जातीयताको आधारमा आरक्षण दिँदा निश्चित मान्छेहरूको कब्जामा पर्ने हुँदा त्यसबाट मुक्त गर्नुपर्ने सर्वोच्चको ठहर छ । संविधानले आरक्षणको व्यवस्थासँगै लक्ष्य पनि राखेको भन्दै त्यो लक्ष्य भेट्टाउनका लागि सही किसिमले आरक्षण व्यवस्थाको सदुपयोग गर्नुपर्ने सर्वोच्चको फैसलामा उल्लेख छ ।
संविधानले विशेष व्यवस्था गरिनुपर्ने वर्गलाई व्यापक बनाएको अवस्थामा आरक्षणको व्यवस्थालाई लक्ष्य केन्द्रित र न्यायपूर्ण बनाउनु आवश्यक भएको सर्वोच्चको फैसलामा उल्लेख छ । १२६ जातजाती र १२३ भाषाभाषीको बसोबास रहेको मुलुकमा आरक्षणको व्यवस्था जातीय नहुने सर्वोच्चको भनाइ छ ।
रिट निवेदकले चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा आरक्षणको व्यवस्था गर्नुपर्ने माग गर्दै रिट निवेदन दायर गरेका थिए । जसमा सर्वोच्चले ’चिकित्सा शिक्षामा गुणस्तरमा प्रतिकूल असर पर्ने गरी आरक्षणको व्यवस्था गरिनु वाञ्छनीय समेत नदेखिँदा’ रिट निवेदन खारेज गरिदिएको छ ।
फैसलाको पुर्णपाठ