बुधवार, आश्विन १४ गते २०८३

निर्वाचनमा धाँधली भएको भन्दै इमरान खानको पार्टी आन्दोलनमा

आइतवार , माघ २८, २०८०

पाकिस्तान। धेरैको अनुमान पाकिस्तानको आम निर्वाचनमा इमरान खानको पार्टी हार्छ र नवाज शरीफको पार्टीले बहुमत ल्याउँछ भन्ने थियो । किनभने इमरान खान सहितका वरिष्ठ नेताहरुलाई सैनिक समर्थित सरकारले भ्रष्टाचार आरोपमा १४ वर्षका लागि जेलमा राखेको छ ।

उनको पार्टी पीटीआईलाई चुनाव लड्नसमेत प्रतिबन्ध लगाइएको छ । तर स्वतन्त्र उम्मेदवारी दिएका इमरान खानका नेता कार्यकर्ताहरुले नै सबैभन्दा धेरै सिट जितेर निर्वाचन सर्वेक्षण फेल बनाइदिएका छन् । दोस्रो स्थानमा रहेको नवाज शरीफको पार्टी पीएमएल-एनले मिलिजुली सरकार बनाउने तयारी जारी राखेको बेला इमरान खान नेतृत्वको पीटीआई भने आन्दोलनमा होमिएको छ ।

आफूहरुले बहुमत सिट जिते पनि मतगणनामा धाँधली गरेर हराइएको भन्दै पीटीआई आन्दोलनमा होमिएको हो । पीटीआई कार्यकर्ताहरुले लाहोर, फैसलाबाद, रावलपिण्डी, मुल्तान, बहाववलपुर, डेरा गाजी खान र गुजरावालामा विरोध प्रदर्शन सुरु गरिसकेका छन् । उनीहरुले आइतबार दिउँसो २ बजे लाहोरको लिबर्टी चोकमा शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

पीटीआईले जनादेश लुट्नेहरुविरुद्ध पूरै दक्षिणी पञ्जाबमा शान्तिपूर्ण प्रदर्शन गर्ने एक्समा लेखेको छ । मतदान सम्पन्न भएको चार दिन भइसक्दा पनि सबै क्षेत्रको मत परिणाम आइसकेको छैन । २६५ सिटमध्ये २५७ सिटको मात्र नतिजा सार्वजनिक भएको छ । अब परिणाम आउन बाँकी बलुचिस्तान क्षेत्रका सिटको हो । धाँधली गर्दै मतपरिणाम सार्वजनिक गर्न ढिलाइ गरिएको भन्दै इमरान खान नेतृत्वको पीटीआईका कार्यकर्ताहरुले मतगणना स्थल बाहिर विरोध प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा एक जनाको मृत्यु समेत भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार