बुधवार, आश्विन १४ गते २०८३

आज मलेसियासँग नेपालको राष्ट्रिय पुरुष फुटबल टिमले मैत्रीपूर्ण खेल खेल्दै

आइतवार , चैत्र ४, २०८०

काठमाडौ–नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आज मलेसियासँग मैत्रीपूर्ण खेल खेल्दै छ। फिफा विश्व कप र एसियन कप संयुक्त छनोट अन्तर्गत बहराईन विरुद्ध हुने खेलको तयारीका लागि नेपालले मलेसियासँग खेल्न लागेको हो ।

खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे शाह आलमस्थित यूनिभर्सिटी टेक्नोलोजी मारा स्टेडियममा हुनेछ ।अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार खेल अनौपचारिक रूपमा बन्द स्टेडियममा हुनेछ र दर्शकलाई प्रवेश गराइने छैन । यस्तै खेलको प्रत्यक्ष प्रसारण समेत नहुने एन्फाले जनाएको छ ।

यसपटक नेपाली टोलीमा ६ नयाँ खेलाडी समावेश छन् भने भरत खवासले कमब्याक गरेका छन् ।आयुष घलान, गोलकिपर दीप कार्कीलगायतका केही खेलाडी बन्द प्रशिक्षणमै सहभागी नभएपछि मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले नयाँ खेलाडी समावेश गरेर टिम बनाएका हुन् ।

अभिषेक लिम्बु, अजय चौधरी, सौभाग्य राई (सन्जित), विशाल बस्नेत, रोहन कार्की र समिर तामाङ पहिलो पटक टिममा परेका हुन् ।मलेसियासँग खेलेपछि नेपाली टोली उतैबाट बहराइन जानेछ ।नेपाल र बहराइनबीच यही चैत ८ र १३ गते बहराइनमै खेल हुनेछ । होम एण्ड अवेका आधारमा छनोटका खेलहरु हुने गरेपनि दशरथ रंगशाला खेल खेलाउन लायक नभएपछि  नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल पनि बहराइनमा हुन लागेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार