काठमाडौं । दार्चुला घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको समितिका टोली घट्नास्थलतर्फ जाँदैछ । काठमाडौंबाट आज हिँड्ने टोली भोलि दार्चुला पुगेर काम थाल्ने बताइएको छ ।
गृह मन्त्रालयले घटना छानबिन गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा समिती गठन गरेको छ । संयोजक गौतम नेतृत्वको टोली आज काठमाडौंबाट हवाई मार्गबाट धनगढी पुग्नेछ । त्यहाँबाट टोली भोलि दार्चुला पुग्नेछ ।
समितीमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी भट्ट सदस्य छन् । घटनाबारे सत्यतथ्य बुझेर १० दिनभित्र प्रतिवेदन पेश गर्न समितिलाई म्याद दिइएको छ ।
दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन खोलिदिँदा व्याँस गाउँपालिका-२ मालगाउँका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका छन् । बेपत्ता भएको घटनाबारे भारतीय पक्षले एसएसबीको घटनामा कुनै संलग्नता नरहेको भन्दै लिखित पत्र पठाएको छ ।
तर आफन्तले भने जयशिंह तुइनबाट पारी पुग्नै लाग्दा एसएसबीका जवानले तुइन बाँधेको रुखबाट फूूस्काइदिएपछि महाकालीको भेलमा वेपत्ता भएको बताएका छन् ।