काठमाडौं । लुम्बिनी प्रदेशमा बहुमतको सरकार गठनका लागि आह्वान गर्न सांसादहरुले प्रदेश प्रमुखसंग माग गरेका छन् । बहुमतको सरकार गठनका लागी आव्हान गर्न माग गर्दै ४१ सांसदले सोमबार प्रदेश प्रमुख अमिक शेरचनलाई हस्ताक्षर बुझाएका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संसदीय दलका नेताले संयुक्तरुपमा निवेदन बुझाएका हुन् । निवेदनमा प्रदेशसभामा हाल कायम रहेका ८० सांसदमध्ये नेपाली कांग्रेसका १९ जना, माओवादी केन्द्रका १८ जना (सभामुख वाहेक), जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४१ जनाको हस्ताक्षर छ ।
गत वैशाख ६ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि विपक्षी दलले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । तर मुख्यमन्त्री पोखरेलले अविश्वास प्रस्तावमाथि छलफल हुनुअघि नै प्रदेशसभाको अधिवेशन अन्त्य गरे, आफूले पनि राजीनामा दिए र एकल बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष निवेदन दिएका थिए ।
त्यसपछि तत्कालिन प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई एकल बहुमतको आधारमा मुख्यमन्त्री नियुक्त गरेका थिए । विपक्षी दलहरुले त्यतिबेलै एकल बहुमतको मुख्यमन्त्री नियुक्ति नेपालको संविधान, संसदीय शासन प्रणालीका आधारभूत मूल्य, मान्यता, मर्म, भावना र संवैधानिक परम्परा विपरीत रहेको जिकिर गरेका छन् ।
सांसदहरुको निवेदन बुझ्दै प्रदेश प्रमुख शेरचनले संवैधानिक र कानूनी परामर्शपछि छिटै उचित निर्णय लिने बताएको जनाइएको छ ।