काठमाडौं । लगातारको वर्षाका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका-८ झौलेकमा सडक भत्किएकाले सोमबार बिहानैदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
आइतबार बेलुकादेखि आंशिक रुपमा बन्द रहेको राजमार्ग सोमबार बिहानदेखि पूर्ण रुपमा बन्द भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । भासिएको सडक भत्काएर सडक किनारबाट पर्खाल लगाउने कार्य भइरहेको भन्दै सडक संचालनमा ल्याउन दुई तीन दिन लाग्न सक्ने प्रवक्ता ओझाले बताए ।
राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायतका स्थानका लागि छुटेका एक सय बढी सवारी साधन ठप्प रहेका छन् । सवारी साधन ठप्प हुँदा यात्रुहरु पनि अलपत्र परेका छन् ।