काठमाडौं । सत्ता गठबन्धनले सरकार सञ्चालनको न्यूनतम साझा कार्यक्रममा समझदारी गरेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको छ । सोमबार कार्यदल र गठबन्धनमा आवद्ध शीर्ष नेताको बैठकले न्यूनतम साझा कार्यक्रम तय गरेपछि मन्त्रिपरिषद् विस्तारको समझदारी गरेको हो ।
साझा कार्यक्रम तय, मन्त्रिपरिषद् विस्तार लगायतका एजेण्डामा नियमित छलफल भइरहे पनि गठबन्धनले निष्कर्ष निकाल्न सकेको छैन । कार्यदलले मंगलबारसम्म सरकारका न्यूनतम साझा कार्यक्रम शीर्ष नेतालाई बुझाउने तयारी गरेको छ । न्यूनतम साझा कार्यक्रमबारे कार्यदलस्तरमा छलफल चलिरहेको जनाइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले बैठकमा न्यूनतम साझा कार्यक्रमबारे छलफल भएको जानकारी दिए । उनले सरकार सञ्चालनबारे छलफल हुनुकासाथै कार्यदलले गरेका कामको ब्रिफिङ भएको जानकारी दिए ।
गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भए पनि कुनै ठोस सहमति भएको छैन ।
बैठकमा प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र कांग्रेस नेता पूर्णबहादुर खड्का सहभागी थिए ।