आइतवार, कार्तिक ९ गते २०८३

पशुमा लम्पी स्किन रोग फेला पर्यो, भारतबाट सरेको आशंका

मंगलवार , श्रावण १९, २०७८

काठमाडौं । कञ्चनपुरमा पशुमा देखिने लम्पी स्किन रोग देखा परेको छ । शुक्लाफाँटा नगरपालिका-१२ कालागौंडीका किसानले पालेका गाई गोरुमा पहिलो पटक लम्पी स्किन रोग देखा परेको हो । 
पशुको शरीरभरि ठूलठूला गिर्खासँगै घाउ देखिन थालेपछि किसानले नगरपालिकाको पशु शाखामा खबर गरेका हुन् ।

शाखाका प्रमुख रामप्रसाद भट्टले कञ्चनपुर जिल्लामै पहिलो पटक लम्पी रोग देखा परेको बताए । उनका अनुसार हालसम्म ६ जना किसानका दुई दर्जनभन्दा बढी पशु रोगबाट प्रभावित भएका छन् । गाई, गोरु र बाच्छा बाच्छीमा रोगको संक्रमण देखा परेको छ ।

गाई गोरुको पुरै शरीरभरि ठूलठूला गिर्खा देखा परेका छन् । शरीरका विभिन्न भागमा घाउ समेत देखिएका छन् । मुखबाट फिज निकाल्ने, शरीर तातो हुने र नाकबाट सिंगान बग्ने लगायतका लक्षण समेत देखिएका छन् ।
रोग देखिएको गाउँमा भट्टको नेतृत्वमा टोली परिचालन भएको छ ।

सरुवा रोग भएकाले अरु पशुमा संक्रमण फैलिन नदिनका लागि किसानलाई रोगबारे जानकारी दिने र निदानका उपायबारे बताउने कार्य भैरहेको उनले बताए । रोग भारतीय गोरुहरुबाट फैलिएको आशंका स्थानीय बासिन्दाले गरेका छन् ।

भारतीय व्यापारीहरुले गाई गोरु खरिद गरी भारततर्फ लैजाने र भारतबाट गाई गोरु ल्याउने भएकाले यसबाटै रोग फैलिएको हुन सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार