काठमाडौं । नेकपा माओवादी केन्द्रले शुद्धीकरणको माध्यमबाट पार्टीलाई एकताबद्ध बनाएर जनतामा जानेमा जोड दिएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले शुद्धीकरणको माध्यमबाट पार्टीलाई एकताबद्ध बनाएर जनतामा र वर्ग समुदायमा जाने निष्कर्ष निकालेको हो ।
प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकले शुक्रबारदेखि सोमबारसम्म १८ जनाले आफ्ना धारणा राखेको र अधिकांशले पार्टी शुद्धीकरण र जनतामा जाने कुरामा जोड दिएको जानकारी दिए । उनले पार्टी खुम्चिँदै जानुमा जनतामा कम जानु र वर्ग समुदायबाट टाढा रहनु रहेको निष्कर्षमा नेताहरूको रहेको पनि बताएका छन् ।
प्रवक्ता सापकोटाले पार्टीको वर्गीय दृष्टिकोण बोधो भएको र वर्गप्रति जोड दिन नसक्दा पार्टी खुम्चिएको निष्कर्ष निकालेको बताए । शुक्रबार सुरु भएको बैठकमा सोमबार सबैले धारणा राखिसकेपछि मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिनेछन् । भोलि नेताहरुले उठाएको प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि पार्टीको आगामी रणनीति तय गर्ने बताइएको छ । बैठकपछि स्थायी कमिटी र लगत्तै केन्द्रीय कमिटीको बैठक बसेर पार्टीको आगामी रणनीति तय गर्ने माओवादीको तयारी छ ।