बिहिवार, आश्विन २९ गते २०८३

उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न कांग्रेसको माग

बुधवार , आश्विन १६, २०८१

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले बाढी पहिरोमा परेका नागरिकको खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न सरकारसँग माग गरेको छ । मंगलवार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले बाढी पहिरोमा बेपत्ता भएकाको उद्धार खोजि गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिएका छन् ।

कांग्रेसले प्राकृतिक प्रकोपको कारणबाट विपी राजमार्ग, सडक, पुलहरु भत्किएको भन्दै खोजि, उद्धार र राहतपछि सरकारले सडक यातायात सुचारु गर्ने काममा तदारुकता देखाउन माग गरेको छ । दशैँ–तिहार जस्ता चाडपर्वहरु नजिक आएकाले आम नागरिकलाई यात्रा सहजताको लागि तत्काल सडक मार्ग खुलाउन आग्रह गरिएको घिमिरेले बताए ।

बाढी पहिरोले क्षति भएका विभिन्न भौतिक संरचनाहरु खानेपानी, विद्यालय, विद्युत लगायत संरचना तत्काल निर्माण गरी सेवा सुचारु गर्न पनि माग गरिएको जानकारी दिएका छन् । कांग्रेसले विपद्मा कालोबजारी, मूल्यवृद्धि हुने सम्भावना रहेको भन्दै अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । साथै हवाई र सवारी साधनको भाडादरलाई सरकारले नियन्त्रण गरी साविककै भाडादरलाई कायम गरी यात्रा गर्ने वातावरण मिलाउन कांग्रेसले सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार