बुटवल । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन आरोपमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आज बिहीबार तेस्रो दिन पनि बयान सुरू भएको छ ।
पोखराबाट भैरहवा ल्याइएका लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा हिजोदेखि लिखित बयान लिन सुरू गरिएको हो । हिजो १० घण्टा बयान लिइएको थियो । रुपन्देहीका प्रहरी प्रमुख एसपी रञ्जीतसिंह राठौरले लामिछानेको बयान आज सकिने र सकिएपछि पोखरा पठाइने बताए । मंगलबार कास्कीको पोखराबाट रुपन्देहीको भैरहवा ल्याइएका लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीले मंगलबार पहिलो दिन मौखिक र हिजोदेखि लिखित बयान लिइएको थियो । बयानमा सरकारी न्यायधिवक्ता पौडेलसँगै इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डित, प्रहरी अनुसन्धान अधिकृत लगायतको सहभागिता छ । बयानका आधारमा पुरुक प्रतिवेदन बनाउने तयारी छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएका लामिछानेलाई प्रहरीको घेराबाट सरकारी वकिल कार्यालय प्रवेश गराउने र ल्याउने गरिएको छ । बयान चलिरहँदा भैरहवामा सरकारी वकिल कार्यालय आसपास ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । लामिछानेलाई बयानका लागि रुपन्देही ल्याएसँगै सहकारी पीडित र रास्वपाका कार्यकर्ताले भैरहवामा प्रर्दशन गरेका छन् । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय आसपासको १ सय मिटर क्षेत्रमा भने नाराजुलुस गर्न निषेध गरेको छ ।
प्रहरीले सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो। अहिले सहकारीका अध्यक्ष गुरुङ पुर्पक्षका लागि जिल्ला कारागार रूपन्देहीमा छन् भने सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा रिहा भइसकेका छन् । कास्की प्रहरीको हिरासतबाट भैरहवा ल्याइएका कुमार रम्तेल र शिवबहादुर गुरुङको बयान भइसकेको छ ।