काठमाडौं । जाजरकोटका एक वडा अध्यक्षले स्थानीय युवालाई बाँधेर निर्घात कुटपिट गरेको घटना प्रहरीको रोहबरमा मिलापत्र गरिएको छ । घटनाको भिडियो भने यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । जुनीचाँदे गाउँपालिका–२, का वडाध्यक्ष रामबहादुर नेपाली युवालाई कुटेका हुन् ।
स्थानीय एक युवकले खिचेको भिडियोमा वडाध्यक्ष आफैंले कुटपिट गरिरहेको देखिन्छ ।
वडाध्यक्ष नेपालीले दाम्लोले हातखुट्टा बाँधेर कुटपिट गरिरहेका छन् । ‘हल्ला किन गरेको’ भन्दै लुगा च्यातिने गरी वडाध्यक्ष नेपालीसहितका व्यक्तिहरुले कुटपिट गरेको भिडियोमा देखिन्छ ।
सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीसहित केही व्यक्तिले सोही ठाउँका सर्ते नेपाली (नवीन परियार) लाई कुटपिट गरेका हुन् । घटना साउन १५ गतेको भएको जाजरकोट प्रहरीले जनाएको छ । तर, कुटपिट गरेको भिडियो भने मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यतिबेला भाइरल बनेको छ ।
प्रत्यक्षदर्शीले भने सामाजिक सुरक्षा भत्ता अनियमितताको आरोप लगाएपछि वडाध्यक्ष नेपालीले उनलाई बाँधेर कुटपिट गरेको प्रत्यक्षदर्शीलेबताएका छन् प्रत्यक्षदर्शीका अनुसार पीडितले मदिरा खाएर होहल्ला पनि गरेका थिए । मदिरा खाएर हल्ला गरेपनि मुख्य विषय भने रकम अनियमितताको आरोप थियो ।
वडाध्यक्ष नेपालीले गरेको गल्तिलाई प्रहरीकै सक्रियतामा ढाकछोप गरेको आरोप पनि लागेको छ । प्रहरीको रोहवरमा वडाध्यक्ष र पीडित पक्षबीच मिलापत्र भएको छ । मिलापत्र कागजमा पीडितले अबदेखि गल्ती नगर्ने र गल्ती गरे प्रचलित नियम कानुनअनुसार सजाय भोग्न तयार हुने प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेका छन् ।
स्थानीयका अनुसार वडाध्यक्षले ती युवकलाई डोरीले बाँधेर कुटपिट गरेको र प्रहरी बोलाएर मिलापत्र गरेको खुलेको छ । भिडियो सार्वजनिक भएपछि वडाध्यक्षले सार्वजनिक गरेको विज्ञप्तिमा घटनालाई ‘प्रहरीले मिलाइसकेको’ उल्लेख गरेका छन् ।