काठमाडौं । सर्लाहीमा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजी विरुद्ध रिने अनसन सुरु गरिएको छ । आयोग खारेजी विरुद्ध लालबन्दी नगरपालिकाका स्थानीयले रिले अनशन सुरु गरेका हुन् । लालबन्दी नगरपालिका वडा नम्बर ६ जनवादी चोकमा प्रधानमन्त्री शेरबहादुर देउवाको कदमप्रति विरोध जनाउँदै रिले अनसन सुरु गरेका हुन् ।
हिजोको मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको थियो ।
भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबास गरिरहेका नागरिकहरूलाई व्यवस्थापन गर्न गठन गरिएको आयोग सरकार परिवर्तन भएपछि विघटन भएको भन्दै लालबन्दी-६ का वडाध्यक्ष उज्जवल कुमार कार्कीको नेतृत्वमा रिले अनसन सुरु भएको हो ।
यसको विरोध आजको राष्ट्रियसभा बैठकमा पनि भएको छ । साँसदहरुले साभामा बोल्दै सरकारले भुमिहिनको समस्या समाधान गर्नुको साटो आयोगनै खारेज गरेर भुमिहनि नागरिकलाई आँसु दिएको भन्दै सरकारको आलोचना गरे । केपी शर्मा ओली नेतृत्वको कार्यकालमा गत वर्ष देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरिएको थियो ।
सुकुमबासी, भूमिहीन र अव्यवस्थित बसोबास गरिरहेका नागरिकलाई जग्गाको मालिक बनाउने, व्यवस्थित बसोबास गर्ने लक्ष्यका साथ तत्कालीन सरकारले आयोग गठन गरेको थियो । कांग्रेसको नेतृत्वको सरकारले आयोग कम्युनिष्टका कार्यकर्ता पाल्ने थलो भएको भन्दै हिजो (मंगलबार) विघटन गरेको थियो ।