काठमाडौं । गृहमन्त्री रमेश लेखक प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आक्रोशित बनेका छन् ।
प्रचण्डले रास्वपा सभापति रवि लामिछानेको विषयमा दिएको अभिव्यक्ति पदीय मर्यादाविपरीत भएको बताउदै लेखक आक्रोशित बनेका हुन् ।
चितवन पुगेर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कानूनी शासन सबैले मान्नुपर्ने बताए । प्रचण्डले रविलाई सरकारले प्रतिशोध राखेको भन्दै हिरासत बाहिर राखेर अनुसन्धान गर्न माग गरेका थिए ।
त्यसबारे गृहमन्त्रीले भने, ‘प्रमुख प्रतिपक्षी दलको नेता ज्यादै जिम्मेवार, संविधान, देश र मुलुकका प्रति गम्भीर र जिम्मेवार हुनुपर्छ भन्ने विश्वास गरेका छौं, आशा पनि गर्नुपर्छ, तर प्रमुख प्रतिपक्षी दलको नेताको अभिव्यक्ति उहाँको पदीय मर्यादा र गरिमाअनुसारको छैन । देशमा कानूनी राज्य स्थापना गर्न र विधिको शासन कायम गर्न भइरहेका कानूनसम्मत अनुसन्धानहरुलाई प्रभावित गर्ने र न्यायिक प्रक्रियालाई नै प्रभावित गर्नेगरी बोल्नुभएको छ । त्यो उचित होइन ।’
उनले मुलुकमा शान्ति सुरक्षा स्थापना, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम र संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको समेत बताए ।
गृहमन्त्री लेखकले थपे, ‘स्थायी सरकार नहुँदा आर्थिक गतिविधि चलायमान हुन सकेको थिएन, सुशासन कायम भएन, विकास निर्माण पनि द्रुत गतिमा अघि बढ्न नसकेपछि वर्तमान गठबन्धन सरकार गठन भएको हो ।’