काठमाडौँ । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसहित ५१ जनालाई प्रतिवादी बनाएर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
पूरक जाहेरी आउनुअघि पक्राउ परेर अहिले कारागारमा रहेका र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ५१ जनालाई प्रतिवादी कायम गर्न राय दिइएको छ ।
लामिछानेसहित ५० जनालाई प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सकारी वकिललाई राय दिएको छ । १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो मागदाबी गरिएको छ । जीबी राईलाई थप कसुरमा समेत अभियोजन गर्नुपर्ने प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
अभौतिक मुद्राको कारोबार गरेको प्रमाण फेला परेको हुनाले उनलाई राष्ट्र बैङ्क ऐन अन्तर्गतको कसुरमा पनि सजाय गर्न मागदाबी लिनुपर्ने राय दिइएको छ ।