काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
विभिन्न पाँच जिल्लाका सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा कात्तिक २ गते बनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ परेका उनलाई मंगलबार आठौँ पटक जिल्ला अदालत कास्कीमा उपस्थित गराउँदा थप चार दिन हिरासतमा राख्न अनुमति दिइएको हो ।
मंगलबार अन्तिम पटक म्याद थप्न अदालतमा लैजाने क्रममा वादी र प्रतिवादीका वकिलहरूले इजलासमा बहस गरे ।त्यसक्रममा रवि र न्यायधीशबी पनि सवाल जवाफ भएको छ ।
रवि र न्यायाधीशबीच भइको सवाल जवाफ
म्याद थपका लागि रविलाई अदालतमा लग्ने क्रममा इजलास बाहिरै रवि र न्यायाधीश बेलबासेबीच सवाल जवाफ भएको थियो । न्यायाधीश बेलबासेले बिरामी हुँदा पनि किन अस्पताल नगएको भनेर रविलाई सोधेका थिए ।
‘इजलास बस्नुअघि दुईवटा कुरा भएका थिए । न्यायाधीश बेलबासेले रविको स्वास्थ्यमा चासो राख्दै बिरामी हुँदा पनि किन अस्पताल नजानु भएको भनेर सोध्नु भएको थियो । रविले त्यसबारेमा आफूसँग आत्मविश्वास र आत्मबल बढी भएकाले नगएको जवाफ दिएका छन् ।
चितवन प्रहरीले आफूमाथि दुव्र्यवहार गरेको भनेर नेतादेखि सामाजिक सञ्जालका प्रयोगकर्ताको पनि संवेदना तान्न सफल रविले कास्कीमा भने आफूविरुद्ध मिडिया ट्रायल भएको गुनासो गरे ।
त्यसपछि इजलासमा रविले आफूलाई र श्रीमतीलाईसमेत थाहा नभएको सम्पत्तिबारेको समाचार लेखाएर प्रहरीले मिडिया ट्रायल गराइरहेको गुनासो न्यायाधीश बेलबासेसामु गरे ।
‘अनुसन्धानका विषय र प्रतिवेदनका नाममा विभिन्न सञ्चारमाध्यमले मविरुद्ध अफवाह फैल्याइरहेका छन्’, रविले भने, ‘मेरो र मेरी श्रीमतीको नाममा रहेको सम्पत्ति मलाई पनि थाहा छैन । तर जथाभावी यति करोड र उति करोड छ भन्दै समाचार आइरहेका छन् । यो अनुसन्धान र अभियोजन हुन्जेललाई मिडिया ट्रायल बन्द गरिपाऊँ श्रीमान् ।’
रविले आफूविरुद्ध मिडिया ट्रायल भएको गुनासो राखेपछि न्यायाधीश बेलबासेले लामो जवाफ दिएनन् । ‘न्यायाधीश बेलबासेले भने, ‘हेरौँला’