मंगलवार, आश्विन २० गते २०८३

घनश्याम रावलको पक्षमा बोलेपछि रिमाल भन्छन्: पार्टीभित्र सधैँ ‘किचकिच’ गरेर बसिरहे

आइतवार , पौष १४, २०८१

काठमाडौ । नेकपा एमालेका उपमाहासचिव विष्णु रिमालले नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई आइतबार सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन्। 

एमाले उपमहासचिव रिमालले कविताको शैलीमा स्टाटस लेख्दै भुसालको नाम नलिईकन उनीविरुद्ध शब्दका वाण प्रहार गरेका हुन्। 

एमाले छाडेर एकीकृत समाजवादीको महासचिव बनेका भुसालले शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी क्रममा भर्खरै एमालेबाट निष्कासित भीम रावललाई आफ्नो पार्टीमा आउन आह्वान गर्दै  केपी शर्मा ओली पार्टी नेतृत्वबाट हटे मात्र एमालेभित्रको उकुसमुकुस शान्त हुने टिप्पणी गरेका थिए। 

भुसालले भनेका थिए, ‘भीम रावल कमरेड त्यहाँबाट निक्लिनुभयो वा निकालियो, त्यो अवस्था छँदै थियो। नेकपा एमालेभित्र प्रश्न उठाएपछि मैले धेरै अघि भनेको थिएँ। त्यतिखेर व्यक्तिगत विरोध, प्रतिशोधका रूपमा लिइयो, कमरेड केपी ओलीका लागि संसारमा दुई खालका मान्छे छन्। एक खालका मान्छे उहाँका शत्रु हुन्। अर्का खालका मान्छे चाकर हुन्। भीम रावलले चाकरी गरेनन्।’

एमालेभित्र धेरै नेता उकुसमुकुसमा रहेको टिप्पणी गर्दै भुसालले भनेका थिए, ‘नेपालमा पार्टी नभएर दुःख पाएको हो की पार्टी राम्रो नभएर हो भन्दा राम्रो पार्टी नभएर दुःख पाएको हो। म (म रावललाई हाम्रो पार्टीमा आउन आह्वान गर्दछु।’

त्यसैको भोलिपल्ट आइतबार बिहानै एमाले उपमहासचिव रिमालले  ‘उनी पो निसासिए रे ’ बाट सुरु गरेर कवितात्मक शैलीमा कटाक्ष गरेका हुन्। 

भुसाल पार्टी (एमाले) भित्र जहिले विवादको निहुँ खोजिरहने गरेको आरोप लगाउँदै रिमालले लेखेका छन्, ‘पार्टीभित्र सधैँ उनी विवादका लागि मौकाको खोजीमा रहे, अनवरत ‘किचकिच’ गरेर बसिरहे।’

यस्तो छ रिमालको पूरा कविता-

उनी पो निसासिए रे!

उननचालीस सालदेखियता

हामी निरन्तर पार्टी संगठन निर्माणमा लागि रह्यौँ,

पार्टीभित्र सधैँ उनी-

विवादका लागि मौकाको खोजीमा रहे,

अनवरत ‘किचकिच’ गरेर बसिरहे।

प्रत्येक चुनौती चिर्दै

पार्टीले उचाइ छोएको बेला,

सुरु भएको विवादमा,

हामी एकताको पक्षमा उभियौँ,

उनले विभाजनको बाटो रोजे।

बाटो मात्र रोजेनन्,

त्यस समूहलाई पनि बीचमै छोडे- अन्तै दौडिए।

'आदर्श'का गफ र 'अर्ती-उपदेश'का पोका बोकेर यताउता गरिरहे।

एक समय फेरि आयो,

पार्टीमा बहस-विवाद सुरु भयो।

'जोरीपारी'हरू-

‘एमालेबिनाको राजनीति'को खेतीमा लागे,

उनी 'ओलीबिनाको एमाले' भन्दै उफ्रिए।

विभाजनको लागि कसैलाई उचाले-

एकता भन्दै आफू अर्कातिर अल्झिए।

मौसम छ्याङ्ग भएपछि,

फेरि नयाँ चुनौती सामना गर्ने बेलामा-

छोडे, दौडिए- पार्टीकैविरुद्ध खनिए।

सानै सही-

असहमत 'अरूहरू'ले दुःखैले बनाएको घरमा

लुसुक्क छिरे-

‘बन साङ्ला'ले 'घर साङ्ला'लाई लखेटेझैँ

उल्टै हाकिम पल्टिए।

अहिले फेरि उनलाई लागेछ क्यारे-

कतै ‘टाँड’ पो पर्छ कि?!

कतै औँला घुसार्न पो मिल्छ कि?!

अनि भन्न थालेछन् फेरि-

‘ओलीले छोड्नुपर्छ, उकुसमुकस भएको छ।’

अरे यार!

ह्याउ भए बनाएर देखाऊ न आफ्नो घर!

आफ्नो घरको मझेरीमा, आँगनमा,

गन्द्रयाङ, गुन्द्रुङ गरिरेहका तिम्रा ‘हाँडा-भाँडा'हरू

बज्न नदेऊ न!

ढोका खोलुन् कि- छेस्किनी लाउन्,

अरूले उनीहरूका घरमा,

जे गरुन्-बाल मतलब!

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार