काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी मुद्दाको दोस्रो दिनको थुनछेक बहस सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा दोस्रो दिनको थुनछेक बहस सकिएको हो ।
सरकारी वकिलका तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले, सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी, उपन्यायाधिवक्ता प्रकाश गौतम र नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरेका हुन् ।
यसअघि मंगलबार सहायक न्यायाधिवक्ता सुजता पौडेलले बहस गरेकी थिइन् । योसँगै सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको बहस सकिएको छ ।
भोलिदेखि जाहेरवालाको तर्फबाट बहस हुने कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । जाहेरवालाको बहसपछि प्रतिवादीको तर्फबाट बहस हुनेछ । जवाफी बहस भने उच्च सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताले गर्ने खनालले जानकारी दिए ।
रविविरुद्ध सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ । गत कात्तिक २ गते पक्राउ परेका रवि लामिछानेलाई वयानका लागि रुपन्देही, काठमाडौं, चितवन र पर्सा पनि लगिएको थियो ।