काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ७ जनाविरूद्ध कास्की अदालतमा दर्ता भएको मुद्दामा आज पनि थुनछेक बहस जारी रहनेछ।
पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा बिहीबार लामिछानेसहित प्रतिवादीतर्फका वकिलहरूले बहस गर्दैछन्।
सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेसहित ७ जनासँगको बयान सकिएसँगै कारागार बसेर मुद्दा लड्ने कि तारेख वा धरौटीमा छुटेर मुद्दा लड्न दिने भनेर पुस १६ गतेदेखि कास्की अदालतमा थुनछेक बहस जारी छ।
मंगलबार र बुधबार सरकारी वकिलहरूले बहस गरेका थिए। जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा मंगलबार जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा, सहायक जिल्ला न्यायाधिवक्ता सुजाता पौडेलले बहस गरेका थिए।
उनीहरूले मुलुकी फौजदारी संहिताले गरेको व्यवस्था अनुसार प्रतिवादीहरूलाई पुर्पक्षका लागि कारागार पठाउनुपर्ने बताएका थिए।
बुधबार नायब महान्यायाधीवक्ता सञ्जिवराज रेग्मी, उपन्यायाधीवक्ता प्रकाश गौतम, जिल्ला न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारीले बहस गरेका थिए। उनीहरूले पनि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने जिकिर गरेका थिए।