काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा जारी थुनछेक बहसअन्तर्गत शुक्रबारदेखि प्रतिवादीहरूको तर्फबाट बहस हुँदैछ ।
आज सुरुमा जाहेरवालाको तर्फबाट बाँकी केही बहस भए उनीहरूले इजलासमा आफ्नो कुरा राख्ने र त्यसपछि थुनामा रहेका सातजना प्रतिवादीको तर्फबाट क्रमशः उनीहरूका कानुन व्यवसायीले बहस गर्नेछन् ।
यसअघि मंगलबार र बुधबार दुई दिन सरकारी वकिलको कार्यालयका तर्फबाट तथा बिहीबार जाहेरवालाका तर्फबाट बहस भयो । १ सय २१ जना जाहेरवालाको तर्फबाट ६ जना कानुन व्यवसायीले बहस गरेका थिए ।
इजलास अधिकृत गुरुप्रसाद आचार्यका अनुसार जाहेरवालातर्फबाट बहस गर्नका लागि दुई दर्जन कानुन व्यवसायीले वकालतनामा भरेकोमा उनीहरूमध्ये बिहीबार ६ जनाले बहस गर्दा कार्यालय समय सकिएको थियो । उनीहरू ६ जनाले बहस गरेपछि जाहेरीवालाहरूले आफ्नो बहस सकिएको बताएका थिए ।
तर, जाहेरवालाको तर्फबाट वकालतनामा गरेका एक/दुईजना वकिलले आफूले पनि बहस गर्न पाउनुपर्छ भनेकोमा शुक्रबार इजलासमा न्यायाधीश नीतिज राईले जाहेरीवालाका कानुन व्यवसायीलाई केही राख्न भए समय दिन सक्ने र त्यसपछि प्रतिवादीहरूको तर्फबाट क्रमशः उनीहरूका कानुनी व्यवसायीले बहस सुरु गर्ने आचार्यले जानकारी दिए ।