काठमाडौँ । राहदानी विभागले पासपोर्ट छपाइका लागि आह्वान गरेको ग्लोबल टेन्डरविरुद्ध दिनहुँजसो उजुरी पर्न थालेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ‘मिलेमतो’मा टेन्डर आह्वान गरिएको भन्दै उजुरी दिनेहरुको लर्को नै लागिरहेको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयमा कुनै निश्चित कम्पनीलाई टेन्डर दिने गरी डकुमेन्ट तयार गरेको भन्दै ५ उजुरी परिसकेका छन्।
करिब १५ वर्षदेखि नेपाली पासपोर्ट छपाइमा राज गरिरहेको फ्रान्सेली कम्पनीलाई नै टेन्डर दिने गरी डकुमेन्ट तयार गरेको उजुरीकर्ताको आरोप छ।
राहदानी विभागले मंसिर १३ गते पासपोर्ट छपाइको लागि टेन्डर आह्वान गरेको थियो। तर त्यसमा फ्रान्सेली कम्पनी आइडेमियालाई सहज हुने गरी सर्त राखिएको भन्दै विवाद भइरहेको छ।
विवाद र उजुरीको शृंखलापछि सार्वजनिक खरिद अनुगमन कार्यालयले गुनासो सम्बोधन गर्न विभागलाई पत्र काटेको छ। पासपोर्ट छपाइ विवादित बन्दै जाँदा परराष्ट्रमन्त्री आरजु राणा देउवाले यसबारे पहल गर्छिन् कि गर्दिनन् भन्ने चासो समेत बढेको छ।
उनले साउन १६ मा राहदानी विभागमै पुगेर आफूले ‘स्टन्टबाजी’ नगर्ने भन्दै पासपोर्ट वितरणलाई सहज बनाउने अभिव्यक्ति दिएकी थिइन्।
उनले नेपाली डायस्पोरा धेरै भएको भन्दै धेरै देशमा पासपोर्ट टोली घुमाएर यसको वितरणमा कटिबद्ध हुने बताएकी थिइन्।त्यतिबेला उनले प्रधानमन्त्रीले समेत राम्रोसँग काम गर्न निर्देशन दिएको र असल शासनमा जोड दिएको उल्लेख गरेकी थिइन्।तर अहिले राहदानी छपाइ विवाद बढिरहँदा भने उनी मौन रहँदै आएकी छिन्।