काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसमेत जोडिएको सूर्यदर्शन सहकारी ठगी मुद्दामा प्रतिवादीका तर्फबाट थुनछेक बहस जिल्ला अदालत कास्कीमा आज पुनः सुरु हुनेछ।
शुक्रबार सुरु भएको प्रतिवादीतर्फका कानुन व्यवसायीको बहसले हिजो शनिबार एकदिनको विश्रामपछि आजदेखि पुनस् निरन्तरता पाउने भएको हो।
कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालका अनुसार शुक्रबार प्रतिवादी लीला पछाईँ र छविलाल जोशी पक्षका कानुनी व्यवसायीले बहस गरेका थिए। पछाईँ र जोशीका कानुन व्यवसायीको बहस अझै नसकिएकाले आज पनि जारी रहने उनले बताएका छन्।
यसअघि सरकारी वकिल र जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले उक्त मुद्दामा बहस गरेका थिए। प्रतिवादीहरूको बयान सकिएपछि जिल्ला न्यायाधीश नितिज राईको इजलासमा मंगलबारदेखि थुनछेक बहस जारी छ।
जिल्ला न्यायाधिवक्ता कमला काफ्लेका अनुसार जाहेरवालाका तर्फबाट कानुन व्यवसायीको बहस सकिएपछि प्रतिवादी पक्षका कानुन व्यवसायीको बहस सुरु भएको हो।
रास्वपा सभापति लामिछानेसहित उक्त सहकारी ठगी मुद्दामा पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतका विषयमा थुनछेक बहस भइरहेको हो।