काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलिका दिनमा पनि नेपाली कांग्रेससँग सहकार्य हुनसक्ने बताएका छन् ।
आजदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ । कांग्रेस र एमालेबीच २०७९ को चुनावमै सहकार्य गर्ने प्रयास विभिन्न कारणले सफल नभएको ओलीले स्वीकार गरेका छन् ।
०७९ को चुनावपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमालेले साथ दिएको थियो । त्यसमा ओलीले आत्मसमीक्षा गरेका छन् ।
‘निर्वाचनको परिणामपछि पनि सहकार्यको प्रस्ताव सार्वजनिक रुपमै सार्वजनिक गरेका थियौँ। विभिन्न कारणले त्यतिबेला त्यो संभव नभए पनि मुलुकमा संकटमा आइपुगेका हौं । उत्पन्न हुँदा या लोकतन्त्र अप्ठ्यारोमा पर्दा सहकार्य गर्ने हाम्रो विगत पनि हो र भविष्यमा पनि यस्तो आवश्यकता पैदा हुन सक्छ । मुख्य प्रतिस्पर्धी हुनुको अर्थ हमेशा निषेध र विरोधको मनोविज्ञानका साथ अगाडि बढ्नु पर्छ भन्ने होइन,’ ओलीको प्रतिवेदनमा भनिएको छ ।