मंगलवार, आश्विन २० गते २०८३

स्वर्णलक्ष्मी सहकारी दुरूपयोग आरोपमा रवि लामिछानेसहित ३९ जनाविरूद्ध मुद्दा दर्ता

आइतवार , पौष २१, २०८१

काठमाडौं । कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आज सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको हो ।

सहकारीको एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता गरेको आरोपमा गोर्खा मिडिया प्रा.लि.का तत्कालीन सञ्चालक समिति सदस्य लामिछानेसहित छविलाल जोशी, स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्य हमेन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दिपक लामाविरुद्ध मुद्दा दर्ता भएको छ ।

पूर्वकोषाध्यक्ष सविना आले मगर, सदस्य भक्तबहादुर भोलन, सविता लामा, पूर्वसचिव प्रदीप लामा, लेखा संयोजक गणेशराज श्रेष्ठ, पूर्वलेखा समिति सदस्य सुनिता नेवा, पूर्वसदस्य शान्तिकुमारी सुवेदी, कर्जा उपसमिति सदस्य रोमन काफ्ले, कमल लामा, व्यवस्थापक नविन अछामी, पूर्वअध्यक्ष कल्पना कुमारी श्रेष्ठ, पूर्वसञ्चालक समिति सदस्य राजु बरालविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।

त्यसैगरी जिबी ग्रुप अफ कम्पनिजका सञ्चालक विशाल तामाङ, असरफ अली सिद्धिकी, नेचर नेष्ट प्रा.लि.का सञ्चालक अनन्त बाबु राई, खिमानन्द कँडेल, बल्लभ नेपाल, निर्देशक गोकुल श्रेष्ठ, देव दीप एग्रिकल्पचर एण्ड एनिमल हस्वेण्ड्री फार्मका सञ्चालक भुपेन्द्र राई, भवती बालुवाखानी प्रा.लि.का सञ्चालक मुखिया कान्छा गुरुङ पनि प्रतिवादी छन् ।

गोर्खा हर्वल प्रोडक्सन प्रा.लि.का सञ्चालक जनक भट्टराई, स्पीङ उड रियलस्टेट प्रा.लि.का सञ्चालक भगवती बम्जन, न्यू सुलक्स अफसेट प्रिन्टर्सका सञ्चालक देवकुमार तामाङ, गोर्खा ग्रुप अफ कम्पनीका सञ्चालक शिवप्रसाद पौडेल, वीरबहादुर रानाभाट, सारेगामा रेकर्ड प्रा.लि.का सञ्चालक किरण पुडासाईं, गोरखा ग्रुप अफ कम्पनीका शेयरधनी पुष्पराज पौडेल र सुपर सिटी इन्टरप्राइजेजका शेयर सदस्य कृष्णबहादुर पोखरेल प्रतिवादी छन् ।

प्रतिवादी कायम गरिएका मध्ये रवि र पूर्व डीआईजी छविलाल जोशी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका छन् ।जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रवक्ता सिताराम अर्यालका अनुसार उनीहरूबाट जम्मा २ अर्ब ४१ करोड बिगो माग दाबी गरिएको छ । हरेकको हकमा छुट्टा छुट्टै दाबी लिइएको छ ।

काठमाडौँमा मुद्दा दायर गरिएका कसैलाई पनि सम्पत्ति शुद्धीकरणको कसुर लगाइएको छैन । यसअघि जिल्ला सरकारी वकिल कार्यालय कास्कीबाटै सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भइसकेकाले दोहोरो मुद्दा पर्ने भएकाले यहाँबाट सहकारी ठगी र संगठित अपराधको कसुरमा मात्रै मुद्दा दायर गरिएको सरकारी वकिल कार्यालयको अभियोगमा उल्लेख गरीएको छ ।

रविलाई सहकारी ठगीमा ५ करोड ८ लाख ६९ हजार ६३३ रुपैयाँ ५ पैसा बिगो कायम गरिएको छ । छविलाई ५ करोड ७८ लाख ९६ हजार ४८० रुपैयाँ बिगो तोकिएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार