काठमाडौँ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति रामहरि खतिवडा र समिति सदस्य हृदयराम थानीबिच चर्काचर्की भएको छ । आजको समिति बैठकमा थानीले धेरै विधेयकहरू सुतेको भनेपछि थानी र सभापति खतिवडाबिच सवालजवाफ हुँदै चर्काचर्की भएको हो ।
‘संवैधानिक परिषद् विधेयक संसदमा सुतेको छ, अख्तियार विधेयक समितिमा आइसियुमा रहेको छ’, थानीले विधेयकहरू अघि नबढेकोमा चिन्ता प्रकट गरेका थिए । थानीले यस्तो भनेपछि सभापति खतिवडाले उनलाई रोक्दै ‘तपाईंको समितिले दिएको सुझाव धेरै भएको छैन’ भनेर जवाफ फर्काए । त्यसपछि सांसद थानी आक्रोशित बनेका थिए । उनले भने, ‘समितिमा तपाईं नै बोल्नुस् । ओभरटेक गर्ने ? म बोल्दिनँ’ उनले आफू पनि समिति सभापतिको कुर्सीमा बसेर आएकाले कम नआँक्न स्मरण गराए ।थानीको भने, म पनि त्यो चियरमा बसेर आएको हो ।
त्यसपछि सभापति खतिवडाले थानीलाई बोल्न समय दिए, तर उनी बोल्न चाहेनन् । त्यसपछि एमाले सांसद कृष्ण गोपाल श्रेष्ठले दुवैलाई सम्झाउने प्रयास गरेका थिए । ‘यस्ता विषयमा अन्यथा गर्नु हुँदैन । सभापतिले पनि कुराको शृङ्खला टुट्ने गरी कुरा काट्दा उत्तेजना हुन्छ । नामै राम्रो, हृदयमा राम भएको’, श्रेष्ठले यसरी बैठकको माहौल सामान्यीकरणतर्फ फर्काए ।
राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठक समितिमा प्राप्त निवेदन तथा उजुरीहरुका सम्बन्धमा छलफल गर्न बोलाइएको थियो ।
साथै सांसद राजेन्द्र राईले पनि सभापति खतिवडामाथि प्रश्न उठाएका छन् । उनले भने, ‘सभापतिज्यू तपाईंको स्टान्ड खै ? कहाँ छ, छैन । तपाईंको सचिवालयले वर्क आउट खै ? तपाईं यसलाई सुधार गर्न नसके फेल हुनुहुन्छ । तपाईं फेल हुँदा हामी पनि फेल । सचिवालयको वर्क आउट जिरो छ ।’
सांसद राईले उजुरीका विषयमा पनि सचिवालयमा गृहकार्य गर्न सभापति खतिवडालाई आग्रह गरेका छन् ।