मंगलवार, आश्विन २० गते २०८३

सहकारी ठगीमा कांग्रेस सांसद राईमाथि पनि अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन

सोमवार , पौष २२, २०८१

काठमाडौं ।  कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत अपचलनको आरोप लागे पनि प्रतिवादी नबनाएपछि नेपाली कांग्रेसकी सांसद माया राईमाथि सरकारी वकिलले थप अनुसन्धान गर्न निर्देशन दिएका छन् । राई  कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारिकी सहसचिव थिइन् । तर उनलाई उन्मुक्ति दिएको आरोप छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले ४४ जनाविरूद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । तर सरकारी वकिलको कार्यालय काठमाडौंले ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाएको हो । भोजपुरकी राई कांग्रेसकी समानुपातिक सांसद हुन् ।

सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख एवं सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेका अनुसार प्रहरीले कांग्रेस सांसद राईको नाम प्रतिवेदनमा राखेको भए पनि बतन नखुलेको हुँदा प्रतिवादी नबनाइएको हो ।

‘प्रहरीले प्रतिवेदनमा नाम राखेको तर बतन नखुलेको/ ठेगाना नखुलेको हुँदा अहिले नै मुद्दा चलाउने भनेर ल्याएको छैन । प्रहरीले नै बतन खुलेको बेलामा थप अनुसन्धान गर्छु भनेको छ,’ काफ्लेका अनुसार अहिले उहाँ कांग्रेसको सांसद हो भनेर कुरा आइरहेको छ । राई सांसद भएको चर्चापछि अनुसन्धान प्रारम्भ गर्न प्रहरीलाई निर्देशन दिएको पनि उनले बताएका छन् ।

‘उहाँ नै हो कि होइन पहिचान गर्नू । हो भने अनुसन्धान प्रारम्भ गर्नु भनेर बोलाएर भनिसकेको छु,’ उनले भने, ‘म्याद तामेली गर्नका लागि हामीलाई बतन र तीन पुस्ते चाहिन्छ ।’ राई उक्त सहकारीमा २०७४ मंसिर ४ गतेदेखि २०७६ भदौ २१ गतेसम्म सहसचिव थिइन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार