काठमाडौं । गत असोज १२ मा आएको बाढीका कारण डुबानमा परेको च्यासल रंगशालाको पुनर्निर्माणको काम सुरू भएको छ ।
लगातारको झरीपश्चात आएको बाढीले पुरिँदा रंगशाला पूर्णरूपमा क्षतिग्रस्त भएर माटोले पुरिएको हो । यहाँका अफिस, कोठा र शौचालयहरूमा माटो भरिएको छ ।
सरकार मातहत खेलकुद क्षेत्रका आधिकारिक निकायहरूले खेल मैदानको पुनर्निर्माणमा खासै चासो नराखेपछि च्यासल क्लबको अगुवाइमा आफूहरूले पुनर्निर्माण सुरू गरेको च्यासल युथ क्लबका अध्यक्ष रमेश व्यञ्जनकारले बताएका छन् ।
त्यसैगरी राष्ट्रिय खेलकुद परिषदले आफूहरूको प्रस्तावलाई सकारात्मक रूपमा लिएर सहयोग गर्ने प्रतिबद्धता देखाएको भएता पनि मैदानको अपनत्व लिनुपर्ने अखिल नेपाल फुटबल संघ एन्फाले चासो नदेखाएको बताएका छन् ।
अध्यक्ष ब्यञ्जनकारका अनुसार एक हप्तादेखि ललितपुर महानगरपालिका वडा नम्बर ९ ले दिएको एउटा डोजर र क्लबले व्यवस्था गरेको ३ वटा डोजर लगाएर सरसफाइ गरेको र अबको २ महिनाभित्र रंगशाला पुनः प्रयोगमा ल्याइने छ ।