काठमाडौं । ललितपुरको सातदोबाटोस्थित एक अवैध कलसेन्टरबाट पक्राउ परेका ७ जनामाथि सट्टाबाजी कसुरमा अनुसन्धान सुरु भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ७ जनाको मुख्य संलग्नता देखिएकाले उनीहरूलाई हिरासतमा राख्न अदालतको अनुमति लिएर अनुसन्धान अघि बढाइएको छ । यही प्रकरणमा अन्य ४६ जनाको हकमा पनि अनुसन्धान भइरहेको र अहिले नै कुन कसुरमा अनुसन्धान गर्ने भन्ने टुंगो लाग्न बाँकी रहेको सीआईबीले बताएको छ ।
यसमा २ भारतीय र ५ नेपालीमाथि भने मुद्दा अगाडि बढाइसकेको छ । बिहार घर भएका भारतीय नागरिक मनिसकुमार झा टिम लिडर र गुजरातका राहुल मेगोडा ट्रेनिङ म्यानेजर रहेको खुलासा भएको छ । त्यसैगरी ५ नेपालीमा ओखलढुंगाका मोनी दाहाल एचआर म्यानेजर, सिन्धुपाल्चोककी सुस्मिता नेपाली इन्चार्ज, झापाको दमकका रोशन बस्नेत म्यानेजर, काठमाडौँका आदित्य कुमार सिंह आईटी सपोर्टर र काभ्रेका सलिन श्रेष्ठ ओभरल टिम लिडर रहेको सीआईबीले बताएको छ।
अवैध कल सेन्टरबाट सीआईबीले ल्यापटप ८५ थान र मोवाइल ९६ थान बरामद गरेर अनुसन्धान अघि बढाएको छ । उनीहरूले सातदोबाटोका सुरेन्द्र गोपाल श्रेष्ठको पाँचतले घरको चौथो तला भाडामा लिएर कल सेन्टर सञ्चालन गरेका थिए । त्यहाँ नेपालीलाई राम्रो कमाई हुने प्रलोभनमा पारेर अवैध काममा लगाएको पाइएको छ । सोमबार राति सीआईबीले त्यहाँ छापा मारेर उनीहरूलाई पक्राउ गरेको थियो ।
उनीहरूले कल सेन्टरबाट सिंगम लट्री, अन्ना लट्री, भाउ लट्री र इन्डुस्बेट लट्री लगायतका ग्यामब्लिङ एप्सको दुरुपयोग गरी डिजिटल वालेटहरूमा रकम जम्मा गर्न लगाइ सट्टेबाजी गर्ने गरेको सीआईबीको दाबी छ । नेपालमा उनीहरूले ९ महिना पहिले प्रोलिंक टिच सोलुसन प्रा.लि. नामक कम्पनी दर्ता गरेर कल सेन्टर खोलि अवैध अनलाइन सट्टेबाजी संचालन गरिरहेको पाइएको छ।
प्रारम्भिक अनुसन्धानपछि ७ जनालाई मुलुकी अपराध संहिता, २०७४ (संशोधनसहित) परिच्छेद ५ दफा १२५ (४) सट्टेबाजी गर्न नहुने सम्बन्धि कसुर अन्तरगत म्याद लिएर अनुसन्धान अगाडी बढाएको हो । अन्यको हकमा अनुसन्धान जारी रहेकाले अहिले अभद्र व्यवहारको कसुरमा म्याद थप गरिएको छ । सीआईबीले उनीहरूको संलग्नता बारे प्रस्ट भएपछि सट्टाबाजीको कसुरमा अनुसन्धान अगाडि बढाउने नबढाउने भन्ने निर्णय गर्नेछ ।