काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई तारेखमा छाडिदिन आग्रह गरेका छन् ।
आज जिल्ला अदालत कास्की इजलासमा लामिछानेले जिल्ला न्यायाधीश नितिज राईसँग आफूलाई तारेखमा छाड्न आग्रह गरेका हुन् । ‘म सुर्यदर्शन सहकारी पीडितका पक्षमा उभिन्छु, सहकारी पीडितका पक्षमा अरू पार्टीभन्दा रास्वपाले नै धेरै काम गरिरहेको छ, हाम्रो पार्टीले दिएका सुझाव सहकारीसम्बन्धी संसदीय समितिको अंग पनि बनेको छ,’ लामिछानेले भने, ‘थुना बाहिरै बसेर मुद्दा लड्न पाऊँ श्रीमान्, बरू हरेक पटक तारेखमा आउँदा सहकारी पीडितका पक्षमा के–के गरेँ भन्ने रिपोर्टसहित आउनेछु।’
लामिछानेले धेरै बेर कुरा राखेपछि जिल्ला न्यायाधीश राईले संक्षिप्तमा कुरा राख्न भनेका हुन् । जबाफमा लामिछानेले भने, ‘म पीडित भएकोले धेरै समय बोल्न परेको छ श्रीमान् ।’ सरकारी वकिलहरूको बहस सकिएपछि जिल्ला न्यायाधीश राईले प्रतिवादीहरूलाई केही भन्नु छ भनेर सोधेका हुन् । त्यसपछि लामिछाने बोलेका थिए ।
लामिछानेले सूर्य थापा सभापति रहेको संसदीय छानबिन समितिले पनि सहकारीको पैसा गोर्खा मिडियामा लैजान आफ्नो संलग्नता नदेखाएको लामिछानेको भनाइ छ । ‘त्यसैले पनि बाहिरै बसेर मुद्दा लड्न पाऊँ,’ उनले भनेका छन् । जिल्ला अदालत कास्कीले आजै लामिछानेबारे थुनछेक आदेश दिने तयारी गरेको छ । लामिछाने गत कात्तिक २ गते पक्राउ परेका हुन् ।