काठमाडौं । आज सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको वैठकमा सभापति राजकिशोर यादव र नेमकिपा सांसद प्रेम सुवालबीच बाझाबाझ भएको छ ।
प्रतिनिधिसभा समिति अन्तर्गतको बैठकमा निर्णय सुनाउने क्रममा उनीहरुबीच तनाव उत्पन्न भएको हो । आफ्नो असहमतिलाई सभापतिले वेवास्ता गरेको भन्दै सांसद सुवालले कडा स्वरमा प्रश्न उठाएका थिए । त्यसपछि यादवले उत्तेजित जवाफ फर्काएका हुन् । यादवको छेउमै बसेका माधव नेपाल मुसुमुसु हाँसे तर, केही बोलेनन् ।
यादवले वैठक समापन भएको घोषणा गरेपछि सुवालले उनीतिर औंला तेर्साउँदै भनेका थिए, ‘सभापतिज्यूले जथाभावि नगर्नुस् । मैले बोल्न पाउँछु कि पाउँदिन् ? मैले सहमति छैन भन्दा भन्दै कि जबरजस्ति गर्नुभयो ?’ सुवालको भनाइले यादव आवेशमा आएका थिए । उनले सुवालको प्रश्नको जवाफ नदिइकन उनलाई थर्काउँदै भने, ‘औंला तल राख्नुस, नौंटंकी गर्ने ?’
सुवालले निरंकुश ढंगले वैठक नचलाउन यादवलाई चेतावनी दिए ।
सुवाल चर्किएर भने, ‘तपाईं निरंकुश बन्न नखोज्नुस, यो राणा शासन होइन, तपाईं राणाको अवतार लिन नखोज्नुस । जसरी राणा शासन समाप्त भयो, त्यसैगरि तपाईं यो समितिबाट हुत्तिनुहुन्छ होस गर्नुस । तपाईं पनि एक्लै म पनि एक्लै, के फुर्ति गर्नुहुन्छ ?’ ‘मेरो आपत्ति छ भनेपछि के हो भनेर सोध्नुपर्दैन सभापति ? अनुपस्थित सदस्यको नाममा समिति बनाएर के गर्न खोज्नुभएको ? तपाईं निरंकुश बन्ने ?’उनले भने,
त्यसपछि यादव जुरुक्कै आफ्नो कुर्सीबाट उठेर भने, ‘हो, बन्ने । के गर्नुहुन्छ ?’ ‘तपाईं निरंकुश बन्नुभयो भने सकिनु हुन्छ । कुन दिन सिधिन्छ यो सभापति अनि थाहा हुन्छ ।’ यति भनेर भुट्भुटिँदै निस्किएका थिए सुवाल । नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफलपछि निर्णय गर्ने क्रममा समितिमा उपस्थित नभएका सांसदको संयोजकत्वमा उपसमिति बनाइएको भन्दै सांसद सुवालले असहमति जनाएका हुन् ।
यसअघि पनि माओवादी सांसद सुदन किरातीसँग पनि समितिमा सभापति यादवको भनाभन भएको थियो ।