काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मुछिएको सहकारी ठगीको मुद्दामा जिल्ला अदालत कास्कीले थुनछेक बहस सकेर आदेशको तयारी गरिरहेको छ ।
बिहीबार बेलुकासम्ममा आदेश जारी हुने अदालत स्रोतले बताएको छ । नितीज राईको इजलासमा थुनछेक बहस भएको थियो । अदालतले रविलाई पुर्पक्षका लागि थुनामा राख्ने वा थुनामुक्त गर्ने आदेश दिने छ । रविका समर्थकहरू उनी थुनामुक्त हुने प्रतीक्षामा छन् ।
आदेश आउने तयारीसँगै अदालत परिसरमा चहलपहल बढेको छ । रास्वपा नेता–कार्यकर्ताहरू अदालत भित्रबाहिर गरिरहेका छन् । रवि लामिछाने अदालतभित्रै छन् । उनलाई अदालतको थुनुवा विश्राम कक्षमा राखेको छ । अहिले उनकी पत्नी निकिता पनि सोही कक्षमा आदेशको प्रतीक्षा गरेर बसिरहेको स्रोतले बताएको छ ।
अदालत बाहिर प्रहरीले सुरक्षामा कडाइ गरेको छ । सुरक्षाकर्मीहरू धेरै संख्यामा तैनाथ गरिएका छन् ।