काठमाडौं । गत मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन् ।
सशस्त्र प्रहरीका ४ जना नायब महानिरीक्षकको पदावधि थप लगायतका विभिन्न ६ वटा निर्णय मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो । बैठकले आज र भोलि हुने नेपाल–भारत वाणिजय सचिवस्तरीय अन्तरसरकारी समितिको बैठकमा गरिने वार्ता तथा छलफलको कार्यसूची पनि स्वीकृत गरेको छ ।
यस बैठकमा सहभागी हुनका लागि उद्योग, वाणिजय तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ । त्यसैगरी, मन्त्रिपरिषद् बैठकले आगामी फागुन १२ गते देखि १५ गतेसम्म इटालीको रोममा आयोजना हुने जनवायु परिवर्तनसँग सम्बन्ध्ति कार्यक्रममा सहभागी हुनका लागि वन तथा वातावरण राज्यमन्त्री रुपा विश्वकर्मालाई स्वीकृति प्रदान गरेको हो ।
मन्त्रिपरिषद् बैठकले सहरी विकास मन्त्रालय सहसचिव विष्णुप्रसाद शर्मालाई विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकको रूपमा काम गर्ने गरी काजमा खटाउने निर्णय गरेको हो । त्यस्तै, परराष्ट्र मन्त्रालयका कायम मुकायम सचिव अमृतबहादुर राईलाई बढुवा गरी परराष्ट्र मन्त्रालयमा पदस्थापन गर्ने निर्णय भएको छ ।