मंगलवार, आश्विन २० गते २०८३

प्रधानमन्त्री ओलीसँग थापा र लिङ्देनको भेट

शुक्रवार , पौष २६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले अलगअलग भेटवार्ता गरेका छन् । दुवै नेताहरू प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

राप्रपाका अध्यक्ष लिङ्देनले प्रधानमन्त्री ओलीलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको निमन्त्रणा दिएका छन् । राप्रपाले हरेक वर्ष पुस २७ गते पृथ्वी जयन्तीलाई उत्सवका रूपमा मनाउँदै आएको छ । प्रधानमन्त्रीसँगको भेटको फोटो राख्दै लिङ्देनले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते राप्रपाद्वारा भृकुटी मण्डपमा आयोजना हुने चियापान कार्यक्रममा निमन्त्रणा दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग लामो समयपछि हिजो साँझ भेटघाट भयो ।’

उनले भेटका क्रममा प्रधानमन्त्रीसँग विविध पक्षमा लामै कुराकानी भएको उल्लेख गरेका छन् । राप्रपाले पृथ्वी जयन्तीमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीसहित सबै शीर्ष नेताहरूलाई निमन्त्रण दिएका छन् । यसअघि लिङ्देन कांग्रेस सभापति शेरबहादुर देउवाकहाँ पनि पुगेका हुन् । प्रधानमन्त्रीसँग लिङ्देनले भेटेको भोलिपल्टै राप्रपा नेपालका अध्यक्ष थापा पनि बालुवाटार पुगेका हुन् । भेटघाटको क्रममा प्रधानमन्त्री ओली र थापाबीच देशको समसामयिक विषयमा छलफल भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताएका हुन् ।

प्रधानमन्त्री ओलीद्वारा सहमतिको आधारमा संविधान संशोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आफूले २०८७ मा संविधान संसोधनको कुरा गरेको विषयमा स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले संसदमा रहेका कतिपय दलहरूले संशोधन गर्न नदिने बताइरहेको सन्दर्भमा सहमति बनाउन समय लाग्ने देखिएको र त्यस्तो अवस्थामा संशोधन पछि धकेलिन सकिने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश अहिले गम्भीर संकटबाट गुज्रिरहेकोबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको बताएका छन् । गएको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि थापाले पार्टी फोडेर राप्रपा नेपाल गठन गरेका हुन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार