काठमाडौं । ट्रेड युनियन अधिकार खुम्च्याउने बहस धेरै नगर्न कर्मचारी नेताहरूले सांसदहरूलाई चेतावनी दिएका छन् ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको जारी बैठकमा कर्मचारी नेताहरूले ट्रेड युनियन अधिकार खुम्च्याउने गरी धेरै बहस नगर्न सांसदहरूलाई चेतावनी दिएका छन् । नेकपा एमालेनिकट निजामती कर्मचारीहरूको छाता संगठन निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले ट्रेड युनियनलाई व्यवस्थित बनाउन बहस आवश्यक रहेको तर ट्रेड युनियन खारेजीको बहस धेरै नगर्न आग्रह गरेका छन् ।
कोइरालाका अनुसार ट्रेड युनियन अधिकारको कुरामा कम बहस भए हुन्थ्यो, यसलाई व्यवस्थित बनाउने कुरा गरौँ । सरकारले ल्याएको विधेयकमै दिएको अधिकारलाई फेरि सुरुदेखि बहस गर्न आवश्यक नरहेको बताए । नेपाली कांग्रेसनिकट निजामती कर्मचारीहरूको छाता संगठन नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले ट्रेड युनियन अधिकारलाई एक इन्च पनि तलमाथि गर्न नसकिने बताएका छन् ।
पोखरेलले भने, ट्रेड युनियन अधिकारलाई एक इन्च पनि तलमाथि गर्न सकिँदैन, सकिन्छ भने व्यवस्थित गरौँ। ट्रेड युनियन जुन अवस्थामा छ, त्यही अवस्थामा रहन्छ । राज्य व्यवस्था समितिले संघीय निजामती सेवा विधेयकमा छलफल गर्ने क्रममा आज कर्मचारी नेताहरूसँग छलफल गरिरहेको छ ।