काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाउने आदेश भएपछि उनकी श्रीमती निकिता पौडेल पनि इजलासमा पुगेकी छन् ।
आज बिहानै अदालतमा हाजिर हुन पुगेका रविले दिउँसो बयान दिँदासम्म निकिता आइपुगेकी थिइनन् । रविलाई आज न्यायिक हिरासतमा पठाउने कि नपठाउने भनेर न्यायाधीश माधवप्रसाद अधिकारी र रविका कानुन व्यवसायीबीच लामो सवालजवाफ चलेको थियो ।
रविले आजै बहस पनि सकिदिन वा परिवारको जिम्मा लगाइदिन माग गरेका हुन । तर न्यायाधीश अधिकारीले इजलासबाट सबैलाई समान व्यवहार हुनुपर्ने भन्दै आज प्रहरीको जिम्मा लगाउने आदेश गरेको हो । रविलाई प्रहरीको जिम्मा लगाउने आदेश भएपछि उनलाई भेट्न निकिता इजलासमै पुगेकी छन् । उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौँको हिरासतमा राख्ने तयारी छ ।
कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा रविसहितका अभियुक्तहरूविरुद्ध मुद्दा चलिरहेको छ । उक्त मुद्दाको प्रतिवाद गर्न उनी बिहान आफै अदालतमा उपस्थित भएका हुन् । उनी उपस्थित भएपछि न्यायाधीश अधिकारीको इजलासमा बयान लिइएको हो ।
रविविरुद्ध बहस गर्न काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले र जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल इजलास पुगेका थिए । सरकारी वकिलले रविको बयान पढ्न समय माग गरेपछि थुनछेक बहस अब भोलि हुने भएको छ ।
यस प्रकरणका पक्राउ परेका दुई अभियुक्त यसअघि नै धरौटीमा छुटिसकेका छन् । मुख्य अभियुक्तमध्येका जीबी राई फरार छन् भने अर्का अभियुक्त कुमार रम्तेल कास्की कारागारमा रहेका छन् । लामिछाने पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख धरौटी बुझाएर बिहीबार छुटेका हुन् ।