काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने वा छाड्ने भन्ने बारे थुनछेक बहस भइरहेको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि लामिछाने आइतबार अदालतमा हाजिर भएका हुन् ।
आज सुरु भएको थुनछेकमा सरकारी पक्षका वकिलहरूले अहिले बहस गरिरहेका छन् । हालसम्म जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, चन्द्र सञ्जेल, सन्तोष राज कटुवाल, राधिका सुवाल र विना खड्काले बहस गरेका थिए । उनीहरू सबैले लामिछानेलाई पुर्पक्षका लागि थुनामा नै पठाउनुपर्ने जिकिर गरेका छन् ।
जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले रवि लामिछानेले विभिन्न समयमा चेक काटेर सहकारीबाट आएको ४९ करोड खर्च गरेको देखिएको जिकिर गरेका छन् । स्वर्णलक्ष्मी सहकारीबाट २ करोड ६५ लाख रुपैयाँ गोरखा मिडियामा पनि गएको उनले बताएका छन् । आटो लोन लिनका लागि लामिछाने र जीबी राईले संयुक्त खाता खोलेको भेटिएको अदालतमा सुनाएका छन् ।
त्यस्तै, चन्द्र सञ्जेलले ८२० थान चेक काटेर सहकारीको रकम खर्च गरिएको उल्लेख गरेका छन् । उनले कुमार रम्तेल र छविलाल जोशीलगायत पोल बयान गरेको अवस्थामा लामिछानेलाई थुनामा राखेर नै पुर्पक्ष गर्नुपर्ने बताएका छन् । यसैगरी सन्तोष कटुवालले बिना धितो कृत्रिम ऋण खडा गरेर सहकारीको पैसा गोरखा मिडियमा ल्याएर व्यक्तिगत रुपमा खर्च गरेको बताएका छन् ।
जाहेरवालको तर्फबाट अझै ६ जना वकिलले बहस गर्न बाँकी छ । उनीहरूको बहस सकिएपछि रवि लामिछानेको तर्फबाट कानुन व्यवसायीहरुले बहस गर्नेछन् ।