काठमाडौँ । स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग भन्ने आदर्श वाक्यका साथ आज दसौँ राष्ट्रिय योग दिवस, २०८१ मनाइँदै छ । यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन् ।
उनले भनेका छन्–'योग यस भूमिको उपज हो । हाम्रा पूर्वजहरू, जसले गणितको, आयुर्वेदको, अन्तरिक्षको अथवा स्वास्थ्य विज्ञानको जुन आविष्कार गर्नुभएको थियो, त्यो असाधारण थियो भन्ने पुष्टि हो यो । आज योगको महत्त्व अझ बढी प्रखर रूपमा प्रकट भएको छ । मानिसको सबैभन्दा महत्त्वपूर्ण कुरा हो स्वास्थ्य रहनु । शारीरिक र मानसिक रूपले स्वास्थ्य रहनु । स्वास्थ्य रहनका लागि योग असाधारण उपयोगी छ । साधना र लामा ध्यानहरू चिन्तकहरूका लागि आवश्यक हुन सक्छ । '
उनले थप भनेका छन्–'हामी विश्वलाई मानवोचित विश्व बनाउन चाहिरहेका छौँ । विश्व भनेको धर्ती र मानव समाज हो । प्रकृति र मानव समाज । यसको सन्तुलन पनि कायम गर्न चाहिरहेका छौँ । योग मूलतः यिनै कुराहरूसँग केन्द्रित छ । हामी यस ठाउँलाई आदियोग भूमि भन्न सक्दछौँ । आदियोग गुरु, आदियोगी शिव अर्थात् शम्भुनाथले यसै भूमिबाट हजारौँ वर्षअघि योगको अभ्यास, योगको चिन्तन र योग दर्शन अर्थात् जीवनसँग सम्बन्धित सम्पूर्ण विषयहरू र जीवन र प्रकृतिको सम्बन्धको चिन्तन, ध्यानादि कुराको प्रारम्भ गर्नुभएको थियो । त्यसकारण हामी शिवलाई आदियोगी मान्दछौँ । '