काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीबारे सार्वजनिक रूपमा आवाज उठाउनेहरु कतिबेला पार्टीबाट लखेटिन्छन् ? केही ठेगान हुदैँन ।
ओलीको कार्यशैलीबारे सार्वजनिक रूपमा आवाज उठाउने नेता–कार्यकर्ता कारबाहीमा पर्ने क्रम जारी छ। सोहीक्रममा कोशी प्रदेश सभाका पूर्व सांसद एवं उदयपुरका नेता विमल कार्कीलाई एमालेले ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको छ।
पुस २७ गते बसेको कोशी प्रदेश कमिटीको बैठकले कार्कीलाई ६ महिनाका लागि निलम्बन गरेको एमाले कोशी अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए।
‘६ महिनाका लागि उहाँलाई पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय भएको छ’, खतिवडाले भने। उनलाई मंसिर १६ मा एमाले कोशी अध्यक्ष खतिवडाले तीन दिनभित्र जवाफ दिन स्पष्टीकरण पत्र पठाएको थियो।
‘तपाईंको नामको फेसबुक आइडीबाट पार्टी नेतृत्वविरूद्ध लगातार अभिव्यक्ति आइरहेको छ। त्यो फेसबुक आइडी तपाईंको हो कि होइन, हो भने तपाईंलाई किन कारबाही नगर्ने’ भन्दै अध्यक्ष खतिवडाले कार्कीलाई स्पष्टीकरण सोधेका थिए। कार्कीले तीन दिनको समय सीमा घर्केपछि मात्रै स्पष्टीकरण बुझाएका थिए। उनको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै प्रदेश कमिटीले कार्कीमाथि कारबाही गरेको हो।
हालका मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमुख्यमन्त्रीहरू राजेन्द्र राई र शेरधन राईहरूसँगै अनेरास्ववियुमा काम गरेका कार्की २०७४ को प्रदेशसभा निर्वाचनमा उदयपुरको क्षेत्र नम्बर १ को १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए।
ओली समूहकै नेता भएता पनि कार्की प्रदेश सभामा जनसरोकारका मुद्दा उठाइरहने सक्रिय सांसदमध्ये पर्छन्। एमाले प्रदेश संसदीय दलको सचेतक पनि भएका उनी उदयपुर एमालेका पूर्व उपाध्यक्ष समेत हुन्। तर अहिले उनी कमिटीविहीन अवस्थामा थिए।
अध्यक्ष ओलीविरूद्ध फेसबुकमा लेखेको आधारमा कारबाही भोग्ने नेताहरूको सूचिमा अहिले कार्कीको नाम पनि थपिएको छ। व्यापारी मीनबहादुर गुरूङले एमालेको पार्टी कार्यालयलाई जग्गा दिने र भवन पनि बनाइदिने विषयमा नेताहरू भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेनाले सार्वजनिक रूपमा असहमति जनाएपछि उनीहरु पनि कारबाहीका परेका छन् ।