काठमाडौं । नेकपा एमालेको कारबाहीपछि अलग्गै राजनीतिक यात्रा थालेका पूर्वउपाध्यक्ष भीम रावलले मातृभूमि जागरण अभियान नेपाल घोषणा गरेका छन् । देश दौडाहामार्फत् पार्टी घोषणाको तयारी गर्न लागेका रावलले हिजो अभियानको घोषणा गरेका थिए ।
रावलका अनुसार अभियान सञ्चालनको क्रममा संगठन निर्माण गर्दै देशमा मूलधारको देशभक्तिपूर्ण राजनीतिक शक्ति र दल निर्माण गर्ने योजना रहेको बताएका छन् । अभियान सञ्चाल गर्ने सिलसिलामा वडा, पालिका, जिल्ला, प्रदेशदेखि केन्द्रसम्म संगठन निर्माण गर्ने उनले सार्वजनिक गरेको अवधारणामा उल्लेख गरिएको छ । जुन तहको भेला हुन्छ सोही तहको संगठन निर्माण गर्ने अभियानको योजना छ ।
अवधारणा पत्रमा संगठनको स्वरूप पनि उल्लेख गरिएको छ । धेरै भन्दा धेरै मानिसहरूलाई समेट्ने किसिमले संगठन बनाउने अभियानको योजना हो । मातृभूमि जागरण अभियान राखेर तहगतरूपमा तदर्थ समिति बनाउने अभियानको योजना हो । उक्त समितिमा एक जना संयोजक र एकजना सदस्य सचिव राख्ने तथा अरू सबै सदस्य रहने अवधारणा पत्रमा उल्लेख छ ।
परिषदबाटमाथि समिति गठन गर्ने र समितिको संयोजक र सदस्य सचिव नै परिषद्को संयोजक र सदस्य सचिव रहने उल्लेख छ । उक्त तदर्थ समितिमा सदस्यको संख्या १५ देखि २५ जनाको रहने र यसभन्दा बढी मानिसहरूलाई समेट्नु पर्ने भएमा सम्बन्धित तहको तदर्थ परिषद् गठन गर्ने अवधारणा अघि सारिएको छ ।