काठमाडौं । प्रमुख चार राजनीतिक दलका नेताहरूबीच कानुन निर्माणबारे छलफल भएको छ । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूबीच छलफल भएको छ ।
छलफलमा चारै दलका मुख्य सचेतक र प्रमुख सचेतकहरू सहभागी भएका थिए । एमाले मुख्य सचेतक महेश बर्तौलाका अनुसार संसदीय समितिमा रहेका विधेयकमा साझा धारणा बनाउने विषयमा छलफल भएको बताएका छन् । बर्तौलाले कन्टेन र विधेयक अगाडि बढाउने प्रक्रियामा एक ठाउँमा उभिएर प्रभावकारी संयोजन गरेर जाने निष्कर्ष निस्किएको बताए ।
संसदीय समिति र हाउसमै विधेयक अड्किने प्रवृत्ति रोक्ने विषयमा पनि चार दलका नेताहरूबीच छलफल भएको हो । उनले भने, ५/६ वर्षसम्म विधेयक सदनमा रहने अवस्था तोड्न पहल लिने र यसका लागि प्रतिनिधिसभा नियमावलीमा आकश्यक प्रबन्ध गर्ने विषयमा छलफल भएको छ । दलहरूले कानुन निर्माणमा समयसीमा राख्ने विषयमा समेत छलफल गर्दै आएका छन् ।