सोमवार, आश्विन १९ गते २०८३

नेपाल बार एशोसिएशनको निर्वाचनमा को–को छन् उम्मेदवार ?

शुक्रवार , माघ ४, २०८१

काठमाडौं । नेपाल बार एशोसियसनको निर्वाचनको ‘मत सर्वेक्षण’ मानिने नेपाल बार काउन्सिल (नेपाल कानून व्यवसायी परिषद) को निर्वाचनमा एमाले र माओवादीनिकट कानून व्यवसायीको तालमेल भएको छ ।

हालै सम्पन्न सर्वोच्च बारको निर्वाचनमा समेत तालमेल गरेका एमालेनिकट पिपिएलए र माओवादीनिकट आरपीएलएबीच बार काउन्सिलमा तालमेल भएको छ । यसले आगामी चैतमा हुने नेपाल बारको निर्वाचनको सम्भावित समिकरण समेत प्रष्ट पारेको हो । करीव ११ हजार मतदाता रहेको बार काउन्सिलको लागि माघ २६ गते शनिवार देशभर मतदान हुने छैन्, तर सातवटा प्रदेशबाट एकएकजनाको दरले काउन्सिलमा ७ जना निर्वाचित हुने छन् ।

एमालेनिकट पिपिएलएले ५ प्रदेशमा नेतृत्व पाएको छ भने माओवादीनिकट आरपीएलएले २ प्रदेशमा पाएको छ । कांग्रेसनिकट डिएलए र नेकपा एसनिकट एसपीएलएबीच गठबन्धन हुने भने पनि कांग्रेसले कतै पनि छाड्न नमानेका कारण एसनिकट वकिलहरुको उम्मेदवारी परेको छैन ।

निर्वाचन समितिका अनुसार सुदूरपश्चिमबाट वाम गठबन्धनका निरन्जन विष्ट र कांग्रेसका टेकवहादुर कठायत छन् भने कर्णालीबाट वाम गठबन्धनका मातृका प्रसाद खनाल र कांग्रेसका दमनराज बम छन् । लुम्बिनीबाट वाम गठबन्धनका मदनकुमार पुन र कांग्रेसका इश्वरी प्रसाद ज्ञवाली उम्मेदवार छन् भने गण्डकीबाट पिपिएलएका नारायणप्रसाद आचार्य र डिएलएका दयाराम गौतम उम्मेदवार छन् ।

वागमतीमा पिपिएलएका रविनारायण खनाले डिएलएका पर्शुराम कोइराला उम्मेदवार छन् भने  मधेशबाट पिपिएलएका ओमप्रकाश केशरी र डिएलएका संजीवकुमार मल्लिक उम्मेदवार छन् । त्यस्तै कोशीमा वाम गठबन्धनबाट पिपिएलएका बालकृष्ण आचार्य र डिएलएका राजु ढकाल प्रतिस्पर्धामा रहेका छन् ।

बार काउन्सिलले वकिललाई लाइसेन्स दिनदेखि तालिमलगायतका नियामक निकायको काम गर्ने गर्दछ । लाइसेन्सप्राप्त नविकरण गरेका सबै कानून व्यवसायी काउन्सिलका मतदाता हुन् । यसको अध्यक्ष महान्यायाधिवक्ता हुन्छन् भने उपाध्यक्ष नेपाल बारको अध्यक्ष हुने गर्दछन् । सबैभन्दा धेरै मतदाता बागमतीमा रहेकाले बागमतीको परिणामलाई महत्वका साथ हेरिएको छ ।

बार काउन्सिलको निर्वाचनले नेपाल बारको आगामी निर्वाचन परिणामको संकेत गर्न सक्ने वकिलहरुले बताएका छन् । यसपटक नेपाल बारमा एमाले र माओवादी मिलेर पुनरागमन गर्ने प्रयासमा लागेका छन् । अघिल्लो निर्वाचनमा कांग्रेस,माओवादी,नेकपा एसलगायत मिलेका थिए भने एमालेनिकट वकिलहरु एक्लै प्रतिस्पर्धामा रहेका थिए । यसपटक वामपन्थी मिलेर बारमा कमब्याक हुने छलफल चलिरहे पनि एमाले र कांग्रेस नेतृत्वले भने सत्तापक्षकै वकिलहरुबीच तालमेल होस् भन्ने चाहेका छन् ।

बारमा एक्लै जित्ने संख्या रहेको दावी गरिरहेको कांग्रेसले एमालेलाई नेतृत्व दिने अवस्था कम रहेको छ । त्यो अवस्थामा माओवादी पक्षले एमालेलाई अध्यक्ष मानेर गठबन्धन बनाउने अवस्थामा वाम तालमेल हुने बताएमन छन् । एमालेनिकट पिपिएलएबाट अध्यक्षको उम्मेदवारमा पूर्व उपाध्यक्ष टिकाराम भट्टराईको नाम आएको छ भने माओवादी पक्षबाट पूर्व महासचिव रमन श्रेष्ठ दाबेदार रहेका छन् । कांग्रेसनिकट डिएलएबाट पूर्व महासचिव लिलामणी पौडेल,खम्बवहादुर खाती,यदुनाथ खनाल,बिजय मिश्रलगायत दाबेदार रहेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार