काठमाडौँ । शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम काठमाडौं महानगरपालिका वडा नं. ४ मा अवस्थित बैष्णबी टुँडालदेवी माताको मन्दिरको प्राङ्गणमा सम्पन्न भएको छ ।
प्रहरी साझेदारी अभियान अन्तर्गत प्रहरी वृत्त मालीगाउँ, प्रहरी वृत्त महाराजगंज र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेवी काठमाडौंको संयुक्त आयोजनामा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्न तथा गुनासाहरूलाई सम्बोधन गदैँ प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्नुका साथै समाजमा रहेका कुरीति तथा विसंगतिहरुलाई चिर्न नागरिकको भुमिका पुलको रुपमा रहेको हुनाले यस्ता कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने चर्चा गर्दै आगामी दिनहरुमा समुदाय एवम् विद्यालयस्तरमा समेत यस्ता कार्यक्रममा तिव्रता गर्नु पर्नेमा विशेष जोड दिए ।
शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि सामुदायिक प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदाय र प्रहरीको हातेमालो गर्दै प्रहरीलाई सूचना दिने तथा गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नको लागि सुझाव तथा सल्लाह दिई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न नागरिकलाई अनुरोध गर्दै प्रहरी र नागरिकले एक आपसमा सहयोग, सहकार्य एवम् समन्वयले मात्र समाजमा शान्ति सुरक्षमा थप मजबुत हुने बताए ।
साथै प्रविधि मैत्री प्रहरीको अबधारणा अन्तर्गत प्रविधिको यथोचित प्रयोग गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय र मातहतका प्रहरी कर्मचारीले परिवर्तित समाजमा नागरिकलाई समायानुकुल व्यवहार गर्दै सुरक्षा प्रदान गरिनेबारे जानकारी समेत गराएका छन् ।
कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव श्याम मैनालीले अन्तरक्रिया कार्यक्रमको महत्व बारे आफ्नो मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त रजौंरेले प्रहरी कार्य सम्बन्धी उठेका जिज्ञासाहरुको निरुपरण गरेका हुन् ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेवी काठमाडौंका अध्यक्ष राम प्रसाद न्यौपानेले धन्यवाद मन्तव्य प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा संविधान सभा सदस्य रमा गुरागाई, पूर्व महालेखा परीक्षक तथा नेपाल सरकारका पूर्व सचिव मधु सुदन ढकाल, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरु, अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक, स्थानिय जनप्रतिनिधिहरू, प्रहरी कर्मचारीहरू, पूर्व प्रहरी कर्मचारीहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।