काठमाडौं । कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत अपचलनसम्बन्धी मुद्दाका प्रतिवादी पूर्वडीआईजी छविलाल जोशी अदालतमा हाजिर भएका छन् ।
जिल्ला अदालत कास्कीबाट धरौटीमा रिहा भएको एकसातापछि उनी काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका हुन् । जोशी आज थुनछेक बहसका लागि आफै अदालतमा उपस्थित भएका हुन् । उनीविरुद्ध सरकारी वकिलको कार्यालयले ५ लाख ७८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै अभियोग पत्र दायर गरेको छ । सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दर्ता भएको छ ।
जोशीलाई पुर्पक्षका लागि थुनामा राख्ने कि थुनाबाहिरै राखेर मुद्दा लड्न दिने भन्ने आदेश हुनेछ । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगीमा जोशीलाई ८८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा जोशीको बयान तथा थुनछेक बहस हुनेछ ।