सोमवार, आश्विन १९ गते २०८३

एमालेमै जाने भइयो : वामदेव गौतम

आइतवार , माघ ६, २०८१

काठमाडौं । नेता वामदेव गौतमले आफूसहित नेकपा एकता राष्ट्रिय अभियानको ठूलो समूह एमालेमा प्रवेश गर्ने र बाँकी केही सदस्य माओवादी केन्द्रमा जाने बताएका छन् ।

आज प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटार निवासमा भेटेका गौतमले अब आफू एमालेमै फर्किने पक्का भएको बताएका छन् । उनले प्रधानमन्त्री ओलीबाट छिटै मिति, समय र स्थानको जानकारी आउने भन्दै बाँकी कुरा उतै सोध्न भनेका छन् ।

‘२ वर्ष भयो मैले प्रयत्न गरेको, तपाईंले वास्तै गर्नुभएन,’ प्रधानमन्त्रीलाई सुनाएको भनाई उद्धृत गर्दै गौतमले भने, ‘तर यसपालि बोलाउनुभयो ठिकै छ ।’ उनका अनुसार प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले गौतमजस्तो इतिहास भएको पुरानो नेता फेरि सक्रिय भएर काम गर्ने अपेक्षा गरेका छन् ।

गौतमले अब एकीकृत समाजवादीसँग यो बीचमा गरेका वार्ताहरूको औचित्य सकिएको भन्दै एमालेमै लाग्ने बताएका छन् । गौतमले भने, ‘माधवजीसँग कुराकानी त भयो, तर एकीकृत समाजवादीबाट कतिपय आशंकाजस्तो व्यक्त गर्ने काम पनि भयो,’ तर अब यी कुरा छाडिदिउँ । ओलीजीले छिटै खबर आउँछ भन्नुभएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार