सोमवार, आश्विन १९ गते २०८३

कर्णाली प्रदेश सभा बैठक बस्दै

सोमवार , माघ ७, २०८१

काठमाडौं । कर्णाली प्रदेश सभा बैठक आज दिउँसो बस्ने भएको छ । संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख यज्ञराज जोशीले दोस्रो कार्यकालको पाँचौँ अधिवेशन आज दिउँसो १ बजेका लागि बोलाएका छन् ।

सोही अनुसार बैठक बस्ने भएसँगै दलहरूले आ-आफ्नो तयारी गरेका छन् । सत्तारुढ दल नेपाली कांग्रेसले हिजो संसदीय दलको बैठक बसेर समसामयिक विषयमा छलफल गरेको थियो । संसदीय दलका नेता समेत रहेका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाही सरकारका कामकारबाहीबारे खासै सन्तुष्ट भएका छैनन् । शनिबार कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बोलाएर प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएका थिए ।

हिजो बसेको बैठकले संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गरिएको थियो । यस्तै सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले संसदीय दलको बैठक अहिले बसिरहेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाइले मुख्यमन्त्री समेत रहेका दल नेता यामलाल कँडेलको अध्यक्षतामा बैठक बसिरहेको र उक्त बैठकमा एमाले कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटी, प्रदेश अध्यक्ष गुलावजंग शाहपनि उपस्थित भएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले दलको बैठक नबसालेपछि सरकारका गलत कामकारबाहीबारे खरो रूपमा उत्रिने तयारी गरेका छन् । माओवादी संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीका अनुसार सरकारले बहुवर्षीय आयोजनाको विषयमा ठुलो कमजोरी गरेको लगायतका विषयमा रहेर प्रतिपक्षले खरो रूपमा प्रश्न उठाउने छन् ।

आफू नेतृत्वमा रहेका बेला माओवादीले ल्याएका कार्यक्रमहरू वर्तमान सरकारले बेवास्ता गरेको, सरकार उल्टो बाटोमा हिँडेको निष्कर्ष प्रतिपक्षले निकालेको छ । अर्कोतर्फ प्रदेश सभा कानुन निर्माणका सन्दर्भमा कमजोर रहेको, संसदीय समितिहरू नेतृत्वविहीन अवस्थामा रहेको लगायतका विषयमा आजको संसदमा छलफल हुने देखिन्छ ।

हिउँदे अधिवेशनको पहिलो बैठक उपसभामुख यशोदा न्यौपानेले सञ्चालन गर्ने बताइन् । सभामुख नन्दा गुरुङकी सास आमाको शनिबार निधन भएकाले उनको उपस्थिति नरहने अवस्थामा बैठक उपसभामुखले सञ्चालन गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभाका सूचना अधिकारी राजेन्द्र पौडेलले कुनै कारण सभामुखको उपस्थिति नरहने अवस्थामा उपसभामुखले बैठक सञ्चालन गर्ने विषय संशोधित प्रदेश सभा नियमावली ०८१ मा प्रस्ट रूपमा राखिएको बताएका छन् । उनका अनुसार बैठकको विषयमा ११ बजे कार्य व्यवस्था समितिको बैठक बस्दै छ भने अहिलेसम्म दलका नेताहरूले धारणा राख्ने कार्यतालिका तय भएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार