सोमवार, आश्विन १९ गते २०८३

रविलाईभन्दा छविलाई १० लाख कम धरौटी माग

सोमवार , माघ ७, २०८१

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले जोशीसँग ५० लाख धरौटी माग गर्ने आदेश गरेको हो । अदालतले माग गरेको धरौटीबापत बैंक ग्यारेन्टी राखेर रिहा हुने उनको तयारी छ । यसअघि रवि लामिछानेलाई यही मुद्दामा ६० लाख धरौटी माग गरेको थियो । अभियोग पत्रमा रविलाई ५ करोड ८ लाख र छविलाई ५ करोड ७८ लाख बिगो कायम गरिएको थियो ।

अदालतमा अभियोग पत्र दायर भएको एकसातापछि जोशी आइतबार जिल्ला अदालत काठमाडौँमा आफै उपस्थित भएका हुन् । आइतबार नै उनको बयान गराइएको थियो । तर बहस नसकिएपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको थियो । छविलाल जोशी सूर्यदर्शन सहकारी ठगीको अभियोगमा कास्की अदालतबाट ८८ लाख धरौटीमा रिहा भएका थिए ।

रवि र छविविरुद्ध हिजो जिल्ला अदालत रुपन्देहीमा पनि सुप्रिम सहकारी ठगीमा मुद्दा दायर भएको हो । त्यहाँ पनि दुवैलाई चार करोड बढी बिगो माग गरिएको हो । सहारा चितवनको पनि मुद्दा अनुसन्धान सकिएको छ । सरकारी वकिलको कार्यालयले अभियोग पत्र दायर गर्न बाँकी छ । उनीहरुविरुद्ध पर्साको सानोपाइला सहकारी ठगीमा पनि अनुसन्धान भइरहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार