काठमाडौं । तामाङ समुदायले आज देशका विभिन्न स्थानमा विविध कार्यक्रमसहित सोनाम ल्होसार मनाउँदै छन् । विशेषगरी हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मोलगायतका जातिको मुख्य चाडका रूपमा रहेको सोनाम ल्होसार किसानहरूले बालीनाली भित्र्याइसकेपछि मनाउने चलन रहेको छ ।
ल्होसार मनाउने समुदायले यस्ता ‘ल्हो’ अर्थात् वर्ष १२ वटा भएको विश्वास गर्दछन् । १२ वर्षको नाम पशुपन्छी र जीवजन्तुका नामबाट राखिएका हुन्छन् । जसमा मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष पर्नेगर्दछन् । यी १२ वर्गलाई यो समुदायले १२ राशिको रूपमा पनि लिने चलन रहेको छ । १२ वर्ष समाप्त भएपछि फेरि उही नाम दोहोर्याएर वर्ष गनिन्छ ।
सोनाम ल्होसारको अवसरमा आज काठमाडौँको टुँडिखेलमा पनि बृहत् कार्यक्रम गरिएको छ । ‘सोनाम ल्होसार तामाङ सांस्कृतिक महोत्सव’, ‘नेपाल तामाङ मौलिक ह्वाइला न्हान’ लगायतका ब्यानरमा टुँडिखेल क्षेत्र परिक्रममा गरिएको थियो । कार्यक्रममा तामाङहरूको जातीय भेषभूषा, बाजागाजा र झाँकी प्रस्तुत गरिएका थिए ।
बागमती प्रदेश तामाङ जातिको बाहुल्य रहेको क्षेत्र हो । राजधानीमा आज टुँडिखेललगायत बौद्ध, स्वयम्भू लगायतका क्षेत्रमा पनि विविध कार्यक्रम आयोजना गरिएका छन् । सोनाम ल्होसारको अवसरमा आज सार्वजनिक बिदा दिइएको छ भने राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायत विभिन्न दलका शीर्ष नेताले शुभकामना समेत दिएका छन् ।