काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंमा दुई जना एसपी राख्ने निर्णय गरिएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले भद्रकालीस्थित परिसरको कार्यालयमा दुई जना एसपी राख्ने निर्णय गरेका हुन् ।
दुई जना एसपी राख्ने निर्णय भएसँगै डीएसपीबाट एसपीमा बढुवा भएका कुलदीप चन्दलाई परिसरमा काज सरुवा गरिएको छ । केही दिनअघि मात्र परिसरमा एसपी अपिल राज बोहरा सरुवा भएर आएका थिए । २०७८ कार्तिकमा तत्कालीन एसएसपी चक्रबहादुर सिंह नेतृत्वको समितिले काठमाडौं परिसरमा सामाजिक अपराध, आर्थिक अपराध र जघन्य अपराध हेर्नेगरी ३ जना डीएसपी र मुद्दा फाँटको समग्र कमान्ड गर्न एसपी खटाउन सिफारिस गर्ने निर्णय गरिएको थियो ।
मुद्दा हेर्ने एसपीलाई काठमाडौंका डीएसपी इन्चार्ज हुने १४ वटा वृत्तहरूको पनि मुद्दा अनुगमन गर्ने जिम्मेवारी दिनुपर्ने समितिको सिफारिस थियो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार पेशेवर अपहरणकारी समूहका सदस्य दुर्गाबहादुर बुढाथोकीले पर्याप्त प्रमाणको अभावमा सफाइ पाएको घटनापछि अनुसन्धानमा हुने कमजोरी न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको बताएका छन् ।