काठमाडौं । काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । बिहीबार बिहान ग्याँस सिलिण्डर विष्फोट हुँदा १४ जना घाइते भएका छन् । तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जनाको अवस्था सामान्य रहेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार केशव श्रेष्ठको घरमा सञ्चालनमा रहेको सानदार मःम पसलमा ग्याँस सिलिण्डर पड्किएको हो । घाइते हुनेहरु सोही पसलमा काम गर्ने कामदार रहेको उनले बताएका छन् ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये पाँच जनालाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ ।
सिलिण्डर विष्फोटपछि घरको सिलिङ भत्किएर खसेको छ । प्रहरीका अनुसार उक्त स्थानमा प्रहरीले खोजी कार्य जारी राखेको छ । घटनास्थलमा नेपाल प्रहरीको विपद् व्यवस्थान टोली र मालीगाउँ प्रहरीको टोली खटिएको छ ।