काठमाडौं । झापाको बिर्तामोडमा रहेको एक होटलमा युवकको शव फेला परेको छ । गएराति युवतीसँगै होटलमा बास बसेका युवकको शव फेला परेपछि प्रहरीले उनीसँगै बसेकी युवती र होटल सञ्चालक महिलालाई पक्राउ गरेको छ ।
बिर्तामोडको एभरेष्ट होटल एण्ड लजमा बास बसेका झापाकै हल्दीवारी-१ गोलधाप घर भएका ३० वर्षीय सागर बेस्राको आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सागर गएराति सुनसरी घर भएकी २३ वर्षीया मुना बिकसँग उक्त होटलमा बास बसेका थिए । सागरको मृत्यु भएपछि प्रहरीले सागरसँगै बसेकी मुना र होटल सञ्चालक महिला यामकुमारी उप्रेतीलाई नियन्त्रणमा लिएका छन् । सागरसँगै बास बसेकी युवती सुनसरीको धरान-१५ घर भइ हाल झापामा बसोबास गर्दै आएकी थिइन् ।
प्रहरीका अनुसार सागर र मुना पतिपत्नी होइनन् । गएराति खाना खाएर उनीहरु सँगै सुतेका थिए । युवतीले बयानमा सागर राति कोठाभित्र बाथरुमको ढोका छेउमा लडेर बेहोस भएको अवस्थामा देखेको बताइन् । त्यसपछि सागरलाई युवती र होटल सञ्चालक महिलाले उपचारका लागि अस्पताल पुर्याएका थिए । चिकित्सकले जाँच गर्दा उनको पहिल्यै मृत्यु भइसकेको पाइएको प्रहरीले बताएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।